एजेन्सी । संयुक्त राष्ट्र संघले विश्वव्यापी तापमान वृद्धिले मानवजातीले ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
जलवायु परिवर्तनका सम्बन्धमा संयुक्त राष्ट्र संघको अन्तरसरकारी अध्ययन समितिले गरेको अध्ययनले विश्वव्यापी तापमान वृद्धिमा मानवजाति नै जिम्मेबार रहेको ठहर गरेको हो ।
झण्डै १४ हजार वैज्ञानिक अध्ययनलाई आधार बनाएर तयार गरिएको प्रतिवेदनमा सन् २०३० सम्ममा पृथ्वीको तापमान १ दशमलव ५ डिग्री सेन्टिग्रेडले बढ्ने चेतावनी दिइइको छ । बढ्दो तापमानका कारण विश्वभरमा मौसमसँग जोडिएका विपद्ले गम्भीर आपतका घटनाहरु सामने आउने प्रतिवेदनमा उल्लेख छ ।
वायुमण्डललाई तताउने ग्यासको उत्सर्जन जुन रूपले भइरहेको छ त्यसले गर्दा अबको दुई दशकमै तापमानले सीमा नाघ्ने वैज्ञानिकहरूको निष्कर्ष छ । यो शताब्दीको अन्त्यसम्ममा समुन्द्रको जलस्तर लगभग दुई मिटर बढ्ने प्रतिवेदनमा औंल्याइएको छ ।
मावनजातिले भोग्नु पर्ने संकटसँगै वैज्ञानिकहरूले कार्बन उत्सर्जनमा व्यापक कटौती गर्नसके तापमानलाई स्थिर गर्न सक्ने आशा पनि औंल्याएका छन् । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेशले प्रतिवेदन मानवताका लागि खतराको संकेत भन्दै विभिन्न देशका नेता र सरोकारवालालाई आगामी जलवायु सम्मेलन सफल बनाउन अपिल गर्नुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।