एजेन्सी । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई बमले उडाउने धम्कीआएको छ । धम्कीपछि विमानस्थलमा सुरक्षा बढाइएको छ । एक अधिकारीका अनुसार अलकायदा सरगनाको नामबाट धम्की सहितको इमेल प्राप्त भएको हो । एयरपोर्ट अपरेसन कन्ट्रोलले शनिबार यसबारे जानकारी दिएको थियो ।
धम्कीबारे सेक्यूरिटी अपरेसन सेन्टरले सबै सम्बन्धी एजेन्सीलाई यसबारे जानकारी गराइसकेको छ । साथै आफ्नो स्टाफलाई अलर्टमा राखेको छ । जाँचमा कडाइ गर्नुका साथै पेट्रोलिङ पनि बढाइएको छ । यसअघि अप्रिल १८ मा दिल्ली विमानस्थलमा एक विमानलाई बमले उडाउने धम्की प्राप्त भएको थियो ।
त्यतिबेला बैलोरदेखि दिल्ली आउने विमान एक यात्रुले उक्त पर्चा भेटेका थिए । जसमा विमानमा बम भएको लेखिएको थियो । त्यस्तै, दिल्ली पुग्ने बित्तिकै विमानमा विस्फोट हुने उल्लेख थियो । विमान दिल्लीपुग्ने बित्तिकै बम डिस्पोजल स्क्वाडले जाँच गरे पनि बम फेला परेन ।
२० जुलाईदेखि राजधानीमा हाई अलर्ट जारी छ । जासुसी एजेन्सीहरुले १५ अगस्त अघि ड्रोनको माध्यमबाट आतङ्कवादी हमला हुन सक्ने बताएका छन् ।