काठमाडौं । गठबन्धन सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न गठिन कार्यदलले प्रस्तुत गरिएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
आइतबार बिहान बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि प्रतिवेदनलाई अन्तिम रुप दिएर सार्वजनिक गरिएको हो । गठबन्धनका शीर्ष नेताहरुको उपस्थितीमा आइतबार प्रधानमन्त्री र मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।
सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ । कार्यक्रम सार्वजनिक गर्दै कार्यदलका संयोजक पूर्णबहादुर खड्काले यस्तो जानकारी गराएका हुन् ।
त्यसैगरी कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरुसँगको समाधन हुन बाँकी सीमा समस्याहरु कुटनीतिक माध्यमबाट समाधान गर्ने र सीमा क्षेत्रमा सुरक्षाका लागि सीमा चौकी बीओलीहरु वृद्धि गर्ने पनि उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन तयार पारेको हो ।
सत्तारुढ कार्यदलले गएको शुक्रबार प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केशीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाएको थियो ।