एजेन्सी । लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि उचालेको छ ।
वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो । खेलापिड केलिची इहिनाचोले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गर्दै लेष्टरलाई उपाधि दिलाएका हुन् ।
सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा केलिचीलाई फाउल गरेपछि लेष्टरले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो ।
लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो ।
सिटी भने सातौं पटक उपाधि जित्नबाट बञ्चित भएको छ । लेष्टरविरुद्धको खेलसँगै मिडफिल्डर ज्याक ग्रेलिसले सिटीका लागि डेब्यु गरेका छन् ।
कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन् ।
लेष्टर एफए कप विजेता र सिटी प्रिमियर लिग विजेताको रुपमा फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।