काठमाडौं । आज घन्टाकर्ण चतुर्दशी पर्व मनाईँदै छ । वर्षभरिका चतुर्दशीहरूमध्ये यस चर्तुदशीको आफ्नै बेग्लै महत्व छ । यस पर्वसंगै औपचारिक रूपमा उपत्यकामा पर्व तथा जात्राको शुरुवात भएको मानिन्छ ।
विशेषगरि नेवारी समुदायले मनाउने गठेमंगललाई नेपाल भाषामा गथांमुगः भनिन्छ । यही शब्दबाट अपभ्रंस हुँदै नेपालीमा गठेमंगल भएको देखिन्छ । यो दिन बाटा–बाटामा राक्षस या प्रेतआत्माका नाममा दुना टपरीमा पाकेका खानेकुरा राखिन्छ ।
त्यसैगरी रातिको समयमा घरघरबाट छ्वालीको मुठ्ठामा आगो बालेर बाहिर दोबाटो राख्न लाने चलन रहेको छ । यस प्रक्रियाले घरमा भएका भुतप्रेतका साथै नराम्रा शक्तिहरु बाहिर जाने विश्वार गरिएको छ ।यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाच लगायत हावा, आगो अनि विभिन्न तन्त्रमन्त्रको साध्यबाट समेत जोगिने विश्वास गरिन्छ ।
विशेषतः काठमाडौँमा प्राचिनकालबाटै तन्त्रमन्त्रमा पारंगत रहेकाले तन्त्रमन्त्र र भूतप्रेतबाट बच्न गठेमंगललाई विशेष दिनका रूपमा लिइन्छ ।
गठेमंगलमा घन्टाकर्ण भन्ने भीमकाय राक्षसको मृत्युलाई पनि सम्झना गरिन्छ । उक्त राक्षसको मृत्युपछि सबै जनता त्रास र भयबाट मुक्त भएको विश्वास गरिन्छ । घन्टाकर्णलाई सनातन धर्ममा भने भगवान शिवका उद्दण्ड भक्तका रूपमा लिइन्छ भने बौद्ध धर्ममा भैरवको दूतका रूपमा पनि लिइन्छ । घन्टाकर्ण भन्नाले ठूलो ठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ ।
घन्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरूका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ । यसो गर्दा एकजना सम्पूर्ण रूपमा नीलो वस्त्र लगाएको पुरुषले घर–घरमा दान–दक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरूलाई खोलामा लगेर बगाउने तथा जलाउने चलन छ । यसरी सेलाउँदा उक्त नीलो वस्त्र धारी पुरुष प्रतिमाहरूमाथि बस्ने चलन छ । यसअर्थमा गठेमंगल नराम्रो शक्तिमाथि मानवताको जीतका रूपमा लिन सकिन्छ ।
यस दिनमा मानिसहरूले गठेमंगलको औँठीका रूपमा धातुको औँठी लगाउने चलन छ । सम्पूर्ण रूपमा नराम्रा तत्व र दुर्भाग्यबाट समेत गठेमंगलको औँठीले सुरक्षा दिने जनविश्वास छ । भूतलाई भगाउन मूलढोकामा तीन वटा किल्ला ठोक्ने चलन पनि रहेको छ ।
गोपाल तथा लिच्छवी वंशदेखिको इतिहास बोकेको यो ऐतिहासिक गठेमंगल पर्वलाई नेपालभरि आ–आफ्नै तरिकाले मनाइन्छ । यो दिन मन्दिरहरूमा दान दिने चलन पनि छ । यसरी दान दिएमा दशा लगायतका दुर्भाग्यहरू टर्ने विश्वास गरिन्छ ।