काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी थालेको छ । निर्वाचन आयोग एक अधिकारीले दिएको जानकारी अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी थालेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा भंग गरेपछि सरकारले कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा गरेको हो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ ।
त्यही बेला आयोगले भने निर्वाचन कार्यक्रम तय गरेको छ, जसअनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन आयोगमा दल दर्ताको काम सकिसक्नुपर्ने आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ ।
असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराइसक्ुनपर्ने उल्लेख गरेको छ । उता, दोस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी भएको निर्वाचन सा्रतले जानकारी दिएको हो ।
३१ गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने आयोगले जनाएको छ ।