तोकिएको भन्दा बढी भाडा लिने ८ जना प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

तोकिएको भन्दा बढी भाडा लिने ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । यात्रुसँग तीन गुणासम्म बढी भाडा लिई ठगी गर्ने ८ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

ट्राफिक प्रहरीले बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट यात्रुसँग बढी भाडा लिने ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारीदेखि निजी सवारी साधनका चालकहरु समेत रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र१–०१–००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ वर्षीय पुण्य प्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ वर्षीय सन्त बहादुर कुमाल र मे १ ज२९९३ नम्बरको बोलेरो जीप चालक ईलाम घर भएका २६ वर्षीय खेम बहादुर पाँचकोटीलाई यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारबाहीको लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने बर्ष ४६ को राजीव हिङ्गजुलाई बा १७ च ५००१ नम्बरको स्कर्पियो सहित प्रयोजन विपरीत भाडामा यात्रु बोकेको अवस्थामा नियन्त्रणमा लिएको हो भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ वर्षीय संजय खड्कालाई समेत यात्रुसँग बढी भाडा लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिई प्रहरी बृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेहरुमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कञ्चनपुरका अम्मर ऐर, बा ६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ वर्षीय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका ३९ वर्षीय हरेन्द्र बुढाथोकी रहेका छन् ।

पक्राउ परेका सवै जनालाई आवश्यक कारबाहीको लागि प्रहरी बृत्तहरुमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ ।

वैदेशिक रोजगारबाट आएका र उपत्यका बाहिरका जिल्लाहरु जाने अधिकांश यात्रुहरु सवारी साधनबाट ठगीन सक्ने कुरालाई मध्ये नजर गर्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।

ट्राफिक प्रहरीले निरन्तर अनुगमन एवं गोप्य निग्रानी गरिरहेको र तोकिएको भन्दा बढी भाडा लिएमा वा निजी गाडीले भाडामा यात्रु ओसारपसार गरेको पाइए नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिने समेत महाशाखा प्रमख एसएसपी जनक भट्टराईले बताए ।

ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);