एजेन्सी। अरब सागरमा विकसित शक्तिशाली चक्रवात ताउ ते ले भारतको जनजीवन अस्तव्यस्त बनाएको छ ।
तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ भने दुई लाखभन्दा बढी विस्थापित भएको भारतीय समाचारहरुमा उल्लेख छ ।
चक्रवातबाट सबैभन्दा प्रभाव मुम्बईमा परेको छ । चक्रवातमा फसेकाहरुको नौ सेनाको जहाजमार्फत उद्धार भइरहेको बताइएको छ । मुम्बईमा ११४ किलोमिटरको गतिमा प्रतिघण्टा हुरी चलेको थियो ।
चक्रवातका कारण मुम्बई, थाणे, रायगढलगायत क्षेत्रको जनजीवन प्रभावित भएको छ । त्यहाँ कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ ।
हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएको समाचारहरुमा उल्लेख छ । यो चक्रवात गएराति १८५ किलोमिटर प्रतिघण्टाको गतिमा गुजरातमा आइपुगेको छ ।
गुजरातका तटीय क्षेत्रका डेढ लाखभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ । कोरोना संक्रमणका कारण भारतीय अस्पतालहरू थेग्न नसक्ने अवस्थामा पुगेका बेला यो तुफान आएको हो ।





