बाँकेमा परिस्थिति भयावह हुन नदिन उपप्रधानमन्त्री पोखरेलको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाँकेमा परिस्थिति भयावह हुन नदिन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेमा स्थिति भयोवह हुन नदिनतर्फ बेलैमा कदम चाल्न निर्देशन दिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज बिहान टेलिफोनगरी बाँकेमा कोरोनाका कारण जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिको बारेमा जानकारी लिँदै यस्तो निर्देशन दिएका हुन् ।

पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिँदै सीसीएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने समेत बताएका छन् । कुनै गम्भीर विषय भएमा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न पनि उनले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बाँके जिल्लाको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै कोभिडका बिरामीको चाप अस्पतालहरुमा बढीरहेको, अस्पतालमा बेडको अभाव भएको, मेडिकल डाक्टरहरुको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालको रुपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराए ।

उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सीसीएमसीका तर्फबाट सम्बोधन गरिने बताए । उपप्रधानमन्त्री पोखरेलले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्न समेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । उनले नेपाल–भारत सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्थापनका विषयमा पनि जानकारी लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);