दाङ । दाङमा बिहीबार थप २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ४ जनाको मृत्यु भएको छ । घोराही र बुटवलमा गरिएको परीक्षणमा थप २०८ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
केन्द्रका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २ सय ९ जनाको पिसीआर परीक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा तुलसीपुर उपमहानगरका ६८ जना, घोराही उपमहानगरका ६७, बबई गाउँपालिकाका ६, गढवा गाउँपालिकाका ५, लमही नगरपालिकाका ३ जना, दंगीशरण गाउँपालिकाका २ जना, बंगलाचुली गाउँपालिकाका १ जना , शान्तिनगर गाउँपालिकाका १ जना, राप्ती र राजपुर गाउँपालिकाका १- १ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बुटवलमा एक सय जनाको परीक्षण गरिएकोमा ५३ जनामा कोरोना पुष्टि भएको केन्द्रका सुचना समन्वयकर्ता अजेन्द्र केसीले जानकारी दिनुभयो । जसमा तुलसीपुरका २७ जना, घोराहीका १८, राप्तीका ५ जना, लमही र शान्तिनगरका १-१ जना संक्रमित थपिएको उहाँले बताउनुभयो र जिल्लामा बिहीवार मात्रै थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की ५२ बर्षीया महिला र वडा नं. ११ का ६२ बर्षीय पुरुष, घोराही १४ का एक जना र लमही ४ का एक जनाको मृत्यु भएको समन्वयकर्ता केसीले बताउनुभयो । यो संगै हालसम्म मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।
जिल्लामा अहिले १ हजार १ सय ४१ जना संक्रिय संक्रमित रहेका छन्,भने कुल संक्रमितको संख्या ४ हजार २ सय ८५ पुगेको छ । जिल्लामा अहिले सम्म ३ हजार १ सय ६ जना निको भएको केन्द्रले जानकारी दिएको छ ।