एजेन्सी । कोरोना महामारीका कारण भारतमा भैरहेको अक्सिजन अभावमा त्यहाँको सेनाले हात हाल्नुपर्ने माग उठेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अक्सिजनको ओसार पसार र व्यवस्थापनको काम सेनालाई दिनुपर्ने माग गरेका हुन् ।
महामारीका कारण भारतमा विकराल अवस्था उत्पन्न भएको छ । सबैभन्दा ठूलो चुनौती अक्सिजनको आपूर्तिमा देखिएको छ । कोरोनाका कारण सिकिस्त विरामीका लागि अक्सिजन नभई हुँदैन । लाखौं मानिस सिकिस्त हुँदा भारतको अक्सिजन आपूर्ति व्यवस्था नै तहसनहस भएको छ ।
राजधानी दिल्लीमा अक्सिजन उत्पादन गर्ने उद्योग छैन । बाहिरी राज्यबाट दिल्ली लगिँदै गरेको अक्सिजन ट्यांकर विभिन्न राज्यका अस्पतालले लगिदिएका छन् । जसका कारण दिल्ली, मुम्बई सहित ठूला सहरमा अक्सिजन नपाएर विरामी मर्ने अवस्था आएको छ ।
त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले सबै खालका राजनीतिक कार्यक्रम बन्द गरेर पूर्ण रुपमा कोरोना नियन्त्रणमा समय दिन थालेका छन् । यस क्रममा मोदीले आयोजना गरेको मुख्यमन्त्रीहरुको भर्चुअल बैठकमा केजरीवालले सेनालाई अक्सिजन व्यवस्थापनको जिम्मा दिनुपर्ने माग गरेका हुन् । केजरीवालको भनाई छ– देशका सबै अक्सिजन उद्योग सेनाले नियन्त्रणमा लिनुपर्छ ।
यसै बीच भारतको वायुसेनाले अक्सिजन ओसारपसारको काम थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
आइ.एन.ए