काठमाडौं, २६ फागुन । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले प्रतिनिधि सभा सदस्य स्वर्गिय सुर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको महिला तथा सामाजिक समितीको बैठकले समितिको सदस्यको रुपमा रहनुभएका प्रतिनिधि सभा सदस्य स्वर्गिय सुर्यबहादुर केसीको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । समितिको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभापति निरु देवी पालले घोषणा गरिन् ।
समितिको उक्त बैठकमा स्वर्गिय केसीको छोरा र स्वकिय सचिवको समेत उपस्थिति रहेको थियो ।
कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ को स्थायी निवासी स्व. केसीको ६३ वर्षको उमेरमा २०७७ साल कार्तिक १७ गते निधन भएको थियो । उनी नेपाली कांग्रेस पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए भने महिला तथा सामाजिक समितिको सदस्य थिए ।
प्रतिनिधि सभा पुर्नस्थापना भएसँगै संघीय संसदका विभिन्न समितीहरुले आफ्ना कामहरु शुरु गरिसकेका छन् ।