काठमाडौं, २२ असोज । नेपाल–भारत सम्बन्धको विविध पक्षमा छलफल गर्दै प्रबुद्ध समुहका पाँचौ बैठक सम्पन्न भएको छ ।
शनिबार र आइतबार दुई दिनसम्म काठमाडौंमा भएको बैठकमा सिमा व्यवस्थापन, स्रोत आतंकवाद, अवैध मुद्रा, लागुपदार्थ ओसारपसार, तस्करी नियन्त्रण, लगायतका विषयमा छलफल भएको छ । बैठकमा भारतले सीमा नियमनलाई व्यवस्थित गर्ने चेकपोष्टमा अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्नेमा जोड थियो । नेपाल भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न दुबै मुलुकद्धारा गठित प्रबुद्ध व्यक्ति समुह बैठकमा लामो समय देखि विवादमा रहेको १९५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनमा छलफल भएपनि निश्कर्षमा पुग्न सकेन ।
बैठकमा नेपालका तर्फबाट संयोजक डाक्टर भेषबहादुर थापा तथा सदस्यहरू डाक्टर राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी हुनुहन्थ्यो । भारतीय पक्षको नेतृत्व संयोजक भगतसिंह कोसियारीले गर्नुभएको थियो । कोसियारीसँगै सदस्यहरू डाक्टर बिसी उप्रेती र महेन्द्र पी लामा बैठकमा सहभागी हुनुहुन्थ्यो । अर्को बैठक नोबेम्बर ११ र १२ तारिकमा भारतको नयाँ दिल्लीमा हुने जनाइएको छ ।