काठमाडौ, २० असोज । प्रहरीले क्रिप्टो करेन्सी कारोबारमा संलग्न ७ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।
केन्द्रीय अनुसन्धान व्यूरोले क्रिप्टो करेन्सी कारोबारमा संलग्न सिन्धुली घर भई बानेश्वर बस्दै आएका ज्ञान प्रसाद पौडेल, अर्गाखाँची घर भई बानेश्वर बस्दै आएका माधव खनाल, काठमाण्डौ भाटभटेनीका प्रशान्त प्रताप शाह,नुवाकोट घर भई कलंकी बस्दै आएकी बिन्दा ढकाल, सिन्धुली घर भई हेलम्बु बस्दै आएका मिङमार तामाङ, ललितपुर हरिसिद्धीका दमन बस्नेत र रुपन्देहीका मनिष कुमार गिरीलाई नियन्त्रणमा लिएको हो । व्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालिएको जानकारी दिएको हो ।
क्रिप्टो करेन्सी भनेको अनलाईनबाट पैसा जस्तै संकेत हुने र्भच्युअल पैसा हो । यो भौतिक रुपमा देख्न नसकिएपनि अनलाईनको माध्यमबाट व्यक्ति व्यक्तिबीच किन बेच हुन्छ । विश्वका धेरैजसो मुलुकमा यसको कारोबारलाई अबैध मानिन्छ । नेपालमा पनि यसको कारोबारलाई गैह्कानुनी मानिन्छ । नेपालमा यसको प्रयोग २०१३ तिर सुरु भएको बुझिन्छ । सन् २००९मा १० सेन्टमा सुरु भएको यसको कारोबार हाल ४ हजार ३ सय ९३ डलर सम्म पुगेको प्रहरीले जनाएको छ ।