देश/समाज

२३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा मनाइने

भक्तपुर, २९ पुष । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिने भएको हो । राष्ट्रिय भूकम्प सुरक्षा दिवस हरेक वर्ष माघ २ गते मनाउने गरिन्छ ।

देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदान(प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै आएको छ ।

यस वर्ष ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । माघ २ गते भक्तपुरको बोडेमा हुने यस वर्षको मूल समारोहमा गृहमन्त्री रामबहादुर थापा (बादल) प्रमुख आतिथिको रुपमा सहभागी हुने भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिनुभयो ।

भूकम्पीय सुरक्षा सम्वन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षा सम्बन्धी डिजिटल प्रदर्शनी लगायतका कार्यक्रमहरु सामाजिक सञ्जाल तथा आम संचार माध्यम र अनलाइन प्रविधि मार्फत् आयोजना गरिने मैनालीले बताउनुभयो ।

Related Post
Share
Tags: bhaktapur

This website uses cookies.