राजनीति

नेपाल भारत सम्बन्धबारे प्रधानमन्त्रीको दृढता । प्रधानमन्त्रीको भनाइले भारत हल्लियो(भिडियोसहित)

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको आसन्न भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनताले स्पष्ट बुझ्ने गरी नेपालको सन्देश दिनु भएको छ । सन्देश नेपाल भारतबीच समानताको आधारमा सम्बन्ध विस्तार हुनु पर्ने र सीमा बिबाद तथ्य प्रमाणको आधारमा सुल्झाउनु पर्नेमा केन्द्रित रहेको छ । भारतीय एक टेलिभिजनलाई हिन्दी भाषामै अन्तर्वार्ता दिएर प्रधानमन्त्री ओलीले नेपालको पोजिसन स्पष्ट पार्नु भएको हो ।

भारतसँगको धेरै पुरानो सम्बन्धलाई सविस्तार गर्दै प्रधानमन्त्री ओलीले नेपाल कसैसँग नझुक्ने स्पष्ट पार्नु भएको छ । नेपाल भारत सम्बन्धमा जोडिएका धेरै विषयहरुमा पुनर्विचार गर्नु पर्ने आवश्यकता औंल्याइएको छ । नेपाल भारतबीचको सम्बन्ध सदियौं देखिको हो । भाई भाईको सम्बन्ध, रोटीबेटीको सम्बन्ध र खुला सीमानाको सम्बन्धकाबारेमा प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजनमार्फत भारतीय जनतालाई सटिक जवाफ दिनु भएको छ ।

भारतले आपूmलाई ठूलो दाई र नेपाललाई भाईको रुपमा व्यवहार गर्न खोजेकोमा प्रधानमन्त्रीले आपत्ति जनाउनु भएको छ । दाई भाईको सम्बन्ध भन्ने व्यवहारप्रति प्रधानमन्त्री ओलीले दाई भाइको नभइ समान राष्ट्रको रुपमा समानताको व्यवहार हुनुपर्नेमा जोड दिनु भएको छ । प्रधानमन्त्री ओलीले, भूगोल र जनसंख्याको आधारमा नेपाल भारत सानो ठूलो राष्ट्र भए पनि दुबै सार्वभौम देश भएकोले समानताको आधारमा मित्रता बलियो बनाउन जोड दिनु भएको छ ।

सर्वव्यापी समानताको हिसाबले संवाद र सम्बन्ध राख्दा भारतलाई आपत्ति हुन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । धार्मिक र सांस्कृतिक आधारमा पनि नेपाल भारत सम्बन्ध पुरानो हो । तर यसो भन्दैमा भारत राम र नेपाल लक्ष्मण हुन सक्दैन । भारत भगवान वा ठूलो अनि नेपाल सानो नभइ वास्तविक रुपमा दुबै देश बराबर हो । अहिलेको आधुनिक समानताको युगमा उपनिवेशको जमाना गएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नु भएको छ ।

नेपाल–भारत र चीनसँगको सम्बन्धमा पनि प्रधानमन्त्री ओलीले भारतीय जनतालाई स्पष्ट जवाफ दिनु भएको छ । भारत चीन विवादमा नेपाललाई मुछ्न आवश्यक नभएको प्रधानमन्त्रीको भनाइ छ । भारत र चीनबीच मित्रवत व्यवहार होस भन्ने नेपालको चाहना हो भन्दै प्रधानमन्त्री ओलीले, नेपालको भूमि दुबै देशविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नु भयो । बरु भारत चीन सम्बन्ध सुधारको लागि मध्यस्थता गर्न आपूm तयार भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

भारतीय पत्रकारले नेपाल भारत सीमा विवादकाबारेमा सोधेको प्रश्नमा पनि प्रधानमन्त्री ओलीले नेपालको शीर उच्च हुने गरी भारतीय जनतालाई सन्देश दिनु भएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको हो भन्ने सन्देश प्रधानमन्त्रीले दिनु भएको छ । भारतले पहिला नक्सा जारी गर्यो, बाटो बनाइ उद्घाटन गर्यो । त्यसमा नेपालले आपत्ति जनाई प्रेस नोट पठाउँदा भारतले वेवास्ता गरिरह्यो । त्यसपछि नेपालले पनि आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको हो ।

यसमा भारतले आपत्ति जनाउन जरुरी देखिंदैन । कस्मिर क्षेत्रमा वा पाकिस्तानसँग सीमा जोडिएको क्षेत्रमा भारतले नक्सा निकाल्दा नेपाल बोलेन । तर नेपालको भूमि भारतीय नक्सामा समावेश गरेपछि नेपाल बोलेको हो । जहाँ समस्या देखिन्छ, अब तथ्य र प्रमाणको आधारमा वार्तामा बसेर समाधान खोजिन्छ । विवाद छ भन्दैमा नेपालले आफ्नो नक्सा जारी गर्ने काम रोक्न मिल्दैन भनी प्रधानमन्त्रीले दृढतापूर्वक जवाफ दिनु भएको छ । नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा छ ।

छिमेकी देशप्रति नेपालले कुनै कार्ड नखेलेको र नेपालको नीति तटस्थ रहेको प्रधानमन्त्रीको भनाइ छ । नेपाल भारतबीच आसन्न परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुनुपूर्व प्रधानमन्त्री ओलीबाट आएको अभिव्यक्तले पुरानो रोटीबेटी र भाइ भाईको सम्बन्ध अब स्वत निस्क्रिय बनेको छ । अबको सम्बन्ध समकक्षी मित्र राष्ट्र शक्तिको रुपमा बन्ने सन्देश प्रधानमन्त्रीको अभिव्यक्तिले दिएको छ । भारतीय जनता र राष्ट्रले बुझिने गरी भारतीय भाषामै नेपालको तर्फबाट दिइएको यो सन्देश नेपालको इतिहासमै पहिलो हो ।

सरकार प्रमुखको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनतालाई दिनु भएको यो सन्देशले सिंगो नेपाल र नेपालीको शीर उच्च भएको छ । प्रधानमन्त्रीको यो सन्देश अहिले सामाजिक सञ्जालहरुमा उच्च प्राथमिकता पाइरहेको छ ।

Share
Tags: SAMPADAKIYE

This website uses cookies.