राजनीति

नेकपा विवादः कि जुटीहाल, कि फुटी हाल (भिडियाेसहित)

सत्तारुढ नेकपाको सत्ता केन्द्रित विवादले उग्र रुप लिंदै गएपछि पार्टी गम्भीर संकटतर्फ धकेलिएको छ । केही दिन यता पार्टीका दुई पक्षबीच आरोप प्रत्यारोपमा चलिरहेको विवाद मंगलबारको सचिवालय बैठकपछि घम्साघम्सीतर्फ धकेलिएको रोमाञ्चक दृष्य समेत देख्न थालिएकाले नेकपा झन संकटतर्फ धकेलिंदै गएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीमाथि एकतर्फी रुपमा १९ पृष्ठको आरोप पत्र मार्फत लाञ्छित गर्न खोजेपछि जवाफमा प्रधानमन्त्री ओलीले, ३८ पृष्ठको जवाफ फर्काएसँगै नेताहरु झन आमने सामने हुँदै गएका छन् । जसले गर्दा नेकपाको सचिवालय बैठक नै अब बस्ने हो वा होईन भन्ने प्रश्न उठेको छ ।

अढाई वर्ष अगाडि महाधिवेसनसम्म दुबै अध्यक्षका बीच बैठकका एजेण्डा तय गरेर मात्र अघि बढ्ने सहमती गरिएको भए पनि पछिल्ला दिनमा त्यो सहमती पालना नगर्दा नेकपा दुर्घटनातर्फ उन्मुख हुँदै गएको हो । पार्टीका दुई अध्यक्षकातर्फबाट छुटुाछुटैृ प्रतिवेदन पेश भएपछि पार्टी विभाजन मात्रै हैन विखण्डनको आधार समेत बन्दै गएको छ ।

मुखले विधि र पद्धतीको राग अलाप्ने तर ब्यवहार भने जसरी पनि सत्ता हात पार्न लालायित हुँदै दाहाल नेपाल पक्षले बहुमत अल्पमतको खेल खेल्न थालेपछि नै नेकपामा संकटको भुँमरी मडारिन थालेको हो । घटनाक्रमले जुन दिन नेकपा टाउको गनेर निर्णय गर्ने अवस्थामा पुग्दछ, त्यसैदिन पार्टी दुर्घटनामा पर्नबाट कसैले पनि जोगाउन सक्ने अवस्था देखिंदैन ।

नेकपाका नेताहरुले हुन त,पार्टीमा शुरु भएको विग्रहको अवस्थालाई मित्रतापूर्ण अन्तरविरोधको जलपले ढाकछोप गर्न खोजिरहेका छन् । तर ब्यवहारमा भने उनिहरु कटुतापूर्ण ढंगले अघि बढीरहेको उनिहरुकै ब्यवहारले दर्शाईरहेको छ । जसले गर्दा कुनै पनि बेला नेकपा भित्र आ आफ्नो बाटो लाग्ने निर्णय नहोला भन्न सकिने अवस्था पनि छैन ।

नेताहरुबी पछिल्ला दिनमा बढेको तिक्ततालाई मध्येनजर गर्ने हो भने, पार्टी एक रहेपनि नेताहरुको मन मिल्ने कुनै गुञ्जायस भने देखिंदैन । सचिवालयमा विभाजित अवस्थामा पुगेको नेकपालाई बिहीबार बस्ने भनिएको स्थायी कमिटीले हस्तक्षेप गरेर विवादलाई टालटुल गरेपनि त्यो दीर्घकालीन हुने छाँटकाँट भने देखिंदैन । जसले, पार्टी एकताका नाममा नेकपाको बाँकी समय पनि बिहान, दिउँसो र बेलुका बैठकमै ब्यतित हुने सम्भावना बढाएको छ ।

हुनत, नेकपाका नेताहरुले मुलुकमा सम्बृध्दि ल्याउने गुलियो नारा लगाउन भने छाडेका छैनन् । तर ब्यवहारले आफ्नै पार्टीको एकतालाई जोगाउन नसकेर जनतालाई जात्रा देखाई रहेका नेताहरुले मुलुकलाई समृद्ध बनाउलान र ? भन्ने आंशका पनि बढ्न थालेको छ । मुलुक यतिबेला विश्वव्यापी भएको कोरोनाको महामारीले आक्रान्त छ । यस्तो अवस्थामा नेकपाले आफ्नै प्रधानमन्त्रीलाई सरकार सञ्चालनमै अवरोध पुग्ने गरि घेराबन्दी गरेर राखेको छ ।

अर्कोतर्फ दुबै पक्षका कार्यकर्ताहरु देशब्यापीरुपमा आ–आफ्ना गुटभेला गरेर हिंडिरहेका छन् । यस्तो अवस्थामा जुट्न पनि नसकेको र फुट्न पनि नसकेको नेकपा अन्ततः मुलुककै लागि भार बन्दै गएको हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ । त्यसैले, जुट्ने भए कुनै तमाशा नदेखाई नेकपाका नेताहरु जुटिहाल्नु प¥यो, हैन सकिंदैन भने तमाशा बन्द गरी आ–आफ्नो बाटो लाग्ने पो हो की !

Share

This website uses cookies.