राजनीति

एक वर्षदेखि बन्धक बनेको ओली सरकार । नेताकै कारण नेकपा सर्वनाशतर्फ ।। (भिडियोसहित)


वर्तमान सरकार पार्टी भित्रकै घेराबन्दीमा विगत एक वर्षदेखि बन्धक बनेको छ । सरकारले गर्ने हरेक काम कर्तव्यविरुद्ध पार्टी भित्रैबाट तारन्तर विरोध मात्र भएको छैन पछिल्लो समय त अवरोध जस्तै गरिन थालेको छ । सरकारको कामलाई हस्तक्षेप गरी चटपटाउनै नदिने गरी घेराबन्दी गरिंदा सरकारले गर्नु पर्ने काम गर्न सकेको छैन । पार्टी बैठक र नेताहरुको चित्त बुझाउनमै सरकार लाग्नुपर्दा जनताको काम ओझेलमा पर्दै आएको छ ।

नयाँ नेपालको निर्माण गर्ने उद्घोषसहित सत्तारुढ बनेको नेकपाले पछिल्लो समय आफ्नो उद्देश्य बिर्सेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बन्धक बनाउनमा ध्यान केन्द्रित गरेको दुर्भाग्यपूर्ण अवस्था मुलुकले भोग्नु परिरहेको छ । झण्डै तीन वर्ष अगाडि प्रधानमन्त्री बन्नु भएका ओलीको विगत एक वर्ष यताको समयलाई हेर्ने हो भने उहाँको ध्यान सरकार सञ्चालनमा भन्दा पार्टीभित्रबाट सिर्जना गरिएका नाटकीय अवरोधहरुलाई चिर्नमा मै ब्यतित भईरहेको छ । उसो त, ओलीले प्रधानमन्त्रीको शपथ खाएकै दिनदेखि पार्टी भित्रबाट सिर्जना गरिएको किचलो सामना गर्दै नआउनु भएको होइन । तर, एक वर्ष यता भने प्रधानमन्त्री ओलीलाई पार्टीले चट्पटाउनै नदिने गरि घेराबन्दी गरेर बन्धक बनाउँदै आएको छ ।

पार्टीले सरकार विरुद्ध चलाएको यो घेराबन्दी कै बीच शनिबार मात्रै पनि प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा आफ्नो जवाफी प्रतिवेदन पेश गर्नु भएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताले गम्भीर प्रकृतिका आरोप लगाउँदै कात्तिक २८ गतेको सचिवालयमा प्रतिवेदन पेश गरेपछि भने नेकपाका केही प्रभावशाली भनिने नेताहरु आफ्नै पार्टीको सरकारका प्रधानमन्त्रीप्रति कति अनुदार रहेछन् भन्ने प्रष्ट भएको छ । फलतः मंगसिर ३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफु माथी लगाईएका निराधार आरोपहरुको प्रतिवाद गर्न समय माग गरेपछि १० दिनको समय, आफ्नै पार्टीका समकक्षीहरुलाई जवाफ दिने प्रतिवेदन लेखेर बिताउनु परेको छ ।

यसले पनि नेकपा भित्र चर्किएको सत्तामुखी शक्ति संघर्षले सरकारलाई कतिसम्म घेराबन्दीमा पारिएको छ भन्ने कुराको संकेत गरेको छ । भलै, पार्टीको यो घेराबन्दीका बीच पनि सरकारले भारतीय विदेश सचिवलाई मुलुकमा आमन्त्रण गरेर नेपाल भारतबिच कचल्टिएको सम्बन्धलाई नयाँ शिराबाट अगाडि बढाउने प्रयासले सार्थकता पाएको छ । त्यतिमात्रै होइन, नेकपाका वरिष्ठ भनिएका नेताहरुले सरकारलाई घेराबन्दी गरिरहेकै अवस्थामा उत्तरको छिमेकी मुलुक चीनका रक्षामन्त्रीलाई स्वागत गर्ने तयारी गरिरहेकै छ ।

नेपाल र भारतबीच विगत एक वर्षदेखि भारतकै कारण सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन । दिल्लीको दीक्षामा हुर्केर नेपालको राजनीतिमा हालीमुहाली गरिरहेका केही नेताहरुले भारतभक्त बन्दै सरकारमाथि एकतर्फी आक्रमण गरिरहँदा नेकपाले सरकारको बचाउमा निर्वाह गर्नुपर्ने भूमिका समेत खेलेको छैन । भारतले आफ्नो स्वार्थको केन्द्रमा राखेको नागरिकता विधेयक यतिबेला प्रधानमन्त्रीकै कारण थन्किएको अवस्थामा छ । सार्वभौम संघीय संसदको गरिमामय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुककै ईतिहासमा पहिलो पटक भारतीय हस्तक्षेप र थिचोमिचोको खुलेरै विरोध गर्दा पार्टी भित्रकै कतिपय नेताहरु काम्दै भारत सामु लम्पसार परेको दृष्य पनि नेपाली राजनीतिमा देखिएकै हो ।

यस्तोमा पनि, नेपाल र भारतबीच दाईभाई वा रोटी बेटीको होइन, एउटा सार्वभौम राष्ट्रले अर्को सार्वभौम राष्ट्र«लाई गर्नु पर्ने समानताको ब्यवहार हुनु पर्दछ भन्ने आफ्नो चट्टानी अडानबाट प्रधानमन्त्री ओली टसमस हुनु भएन । परिणामतः नेपालसँग सदैव ठुल्दाईको ब्यवहार प्रदर्शन गर्दै आएको भारतले आफ्नो त्यो हैकमवादी नीति परिवर्तन गर्दै चरणबध्द रुपमा आफ्ना दुतहरु नेपाल पठाउन बाध्य भएको तथ्य यहाँ बिर्सन मिल्दैन ।

यतिबेला मुलुक दर्जनौ समस्याबाट गुज्रिरहेको छ । विश्व ब्यापी रुपमा फैलिएको कोभिड– १९ को महामारीका कारण मुलुकको सबै क्षेत्र लथालिंग अबस्थामा पुगेको छ । सुखी नेपाली समृध्द नेपालको नारा ल्याईएको भए पनि त्यस अनुरुप विकास निर्माणका कामले गति लिन सकेको छैन । यस्तोमा पार्टीको ध्यान सरकारलाई सदैव सहयोगी भुमिकामा केन्द्रित गर्नु पर्ने थियो । तर, यि यावत समस्या र स्वयं पार्टीले चुनावताका जनता समक्ष गरेका प्रतिबद्धता पुरा गर्न सरकारको हात दह्रो बनाउनु पर्ने आफ्नो कर्मबाट च्यूत भएर नेकपाका नेताहरुले सत्ता लिप्साबाट ग्रसित हुँदै, जसरी सरकार विरुद्ध घेराबन्दी शुरु गरेका छन् यसले प्रधानमन्त्री ओलीलाई मात्रै विनाश गर्दैन स्वयं पार्टीकै अस्तित्व सर्वनाश हुने लक्षण देखा पर्दैछन् ।

Related Post
Share

This website uses cookies.