सत्तारुढ दल नेकपा भित्र मच्चिएको विवादको हुँडलो अझै मत्थर भएको छैन । पार्टी पंक्ति मात्र होइन, जनतालाई निराश बनाउने गरी निरर्थक ढंगले, बढीरहेको विवाद कसरी बिसर्जन हुने हो त्यसको पनि छेकछन्द भेटिएको छैन । यद्यपी विवाद बढाउनमै रमाइरहेका वरिष्ठ नेताहरुले यही कारण पार्टी नै विभाजित नहुने सुगा रटाइ लगाउँदै प्रधानमन्त्री निवास बालुवाटारमा चरणवद्ध छलफलमा जुटिरहेका पनि छन् । तर पनि नेकपा विवादले कुन बिन्दुमा पुगेर अवतरण लिने हो त्यसको धावन मार्ग भने तय भइसकेको छैन ।
तथापी नेकपाले एउटा ज्यान भएको दुई टाउके पार्टी जस्तोमा आफूलाई रुपान्तरण गर्दै लगिरहेको छ । यसले न त मुलुकको न त पार्टीकै भलो गर्छ । त्यो जान्दाजान्दै नेकपाका नेताहरुले गरिरहेको दन्तबजान भने दुर्भाग्यपूर्ण छ । दुई विपरीत धार र दुई धु्रव मिलेर नेकपा बनेका कारण कतिपय नेताहरुबीच नीति र मति नमिल्दा पार्टीमा झल्याकझुलुक विवाद हुनु सामान्य नै मान्न सकिन्थ्यो होला । तर जनतालाई नै निराश बनाउने गरी नेताहरुबीच चलिरहेको माथापच्चिले नेकपालाई नै सर्वनासको दिशातर्फ डो¥याइरहेको छ भन्दा फरक पर्दैन ।
नेकपाका नेताहरु यही हालतमा जुट्न पनि नसक्ने र फुट्न पनि नसक्ने गम्भीर दुष्चक्रमा फसिरहेकाले पार्टी विवादको समाधानका लागि महाधिवेशनको बाटो लिनु नै सर्वाेत्तम उपाय हुँदै गएको छ । आगामी चैतको अन्तिम साता महाधिवेशन गर्ने पार्टी निर्णयलाई कार्यान्वयनको दिशामा लैजाने हो भने राजनीतिक बेरोजगार बनेर सिंहदरवारको कुर्सीमा मात्र अर्जुन दृष्टि लगाइरहेका धरै नेताहरु महाधिवेशन केन्द्रित हुन बाध्य हुन्छन ।
यो अवस्थामा पार्टी पंक्ति जनस्तरमै चलायमान हुन पुग्ने र सरकारले पनि सहज ढंगले आफ्ना कामलाई अघि बढाउने बाटो खुल्न सक्दछ । नेकपामा शीर्ष नेताहरुको व्यवस्थापन नै विवादको मुख्य जड देखिएको र त्यो विषय निकै पेचिलो बनिरहेकाले आगामी दिनका लागि शीर्ष नेताहरुबीच अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिमा सहमति कायम गरी अघि बढ्न सक्ने बाटो खुला नै छ ।
त्यसो त सरकारका कामलाई अझ प्रभावकारी बनाउन स्थायी कमिटीको निर्णय र प्रधानमन्त्रीको भावनालाई प्रतिबिम्बित गरी मन्त्रीपरिषद पुनर्गठनको विषयले पनि नेकपा विवादलाई सम्बोधन गर्न सक्छ । पार्टीमा बढिरहेको व्यक्तिगत अन्तरविरोध र कटुता, नेतृत्वबीचको असमझदारी हटाउँदै माथिदेखि तलसम्म पार्टीलाई एक ढिक्का बनाउन एकता गर्दाको मर्म र विधिलाई पनि नेताहरुले आत्मसात् गर्न सके विवादमा मलमपटिृ हुने देखिन्छ ।
नेकपाले स्थिर सरकार र समृद्ध मुलुक निर्माण गर्ने सपना बाँड्दै जनतासँग भोट मागेको थियो । आगामी दिनमा पनि भोट माग्न जनतासँगै जानुपर्ने हेक्का पक्कै पनि नेकपाका नेताहरुलाई भएकै हुनुपर्छ । स्थिर सरकारपछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने संविधानको प्रभावकारी कार्यान्वयन हुने, विकासले अभूतपूर्व रुपमा गति लिने र त्यसले मात्र सरकारले भनेझैं समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियान पूरा हुन सक्दछ ।
यो तथ्यलाई बिर्सने हो भने, नेकपाको अवस्था भविष्यमा नरहे बाँस न बजे बाँसुरी जस्तो हुन पुग्दछ । कुनै समय जननेता मदन भण्डारीले सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्नु भएको थियो । पार्टीका पूर्व महासचिव मदन भण्डारीले भन्नु भएको यो उद्गारलाई नै ठण्ठा दिमागले नेकपाका नेताहरुले आत्मबोध गर्ने हो भने पनि नेकपाको भविष्य उज्ज्वल नै देखिन्छ ।
तर सिद्धान्तको लेपन दिमागमा लगाउने काम भने जनचाहना विपरीत गरिरहने हो भने, नेकपाको भविष्य पनि भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिंदैन भन्ने नेपाली उखान जस्तै हुन पुग्दछ ।