देश/समाज

स्याङ्जामा फेरी पहिरो : थप तीन घर पुरिए

स्याङ्जा, ९ असोज । बिहीबार एकै परिवारका ९ जनाको ज्यान गएको स्याङ्जा वालिङ-१४ तमादीमा शुक्रबार पनि पहिरो जाँदा तीन घर पुरिएका छन् । अविरल वर्षाको कारण बिहिबार एकै घरका ९ जनाको ज्यान गएकै ठाउँमा पहिरो जाँदा शुक्रबार थप तीन घर पुरिएको हो ।

पुरिएका घरका परिवारलाई सुरक्षित स्थानमा सारिएका कारण मानविय क्षति भने भएको छैन । उक्त ठाउँको स्थलगत अवलोकन गर्न वालिङ नगरपालिकाको प्राविधिक र जनप्रतिनिधिकोसहितको टोली पहिरोस्थल तर्फ गएको छ ।

गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा बिहीबार स्याङ्जामा दश जनाको मृत्यु भएको थियो । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर-१४ तमादीमा एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ४ को गौतमटोलमा एक जना गरी दश जनाको मृत्यु भएको हो ।

एकै परिवारका १० जनामध्ये उद्दार गरिएकी १७ वर्षीया मनिषा नेपालीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको बताइएको छ ।

Related Post
Share

This website uses cookies.