विश्व

टिकटकः माइक्रोसफ्टको प्रस्ताव अस्वीकार, अब ओरकलले किन्न सक्ने

एजेन्सी, २९ भदौ । लोकप्रिय भिडियो शेयरिंग एप टिकटकले अमेरिकी कम्पनी माइक्रोसफ्टले गरेको अमेरिकी सेवा खरिदको प्रस्ताव अस्वीकार गरेको छ । अमेरिकी सेवा खरिदका लागि गरेको प्रस्ताव चिनियाँ स्वामित्वको कम्पनी टिकटकले अस्वीकार गरेको माइक्रोसफ्ट कम्पनीले जानकारी दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई अमेरिकाको सेवा अमेरिकी कम्पनीलाई नै बिक्री गर्न दिएको समयावधि मंगलबार सकिँदैछ । यस्तो अवस्थामा माइक्रोसफ्टले आफ्नो प्रस्ताव अस्वीकृत भएको बताएको हो । ट्रम्पको प्रशासनले टिकटक तथा अन्य चिनियाँ एपमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको बताउँदै आएको छ । ट्रम्पले टिकटकले आफ्नो अमेरिकाको व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री नगरेको अवस्थामा मंगलबारदेखि प्रतिबन्ध लाग्ने घोषणा गरिसक्नु भएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुले अब अर्काे अमेरिकी कम्पनी आरेकलले टिकटकको अमेरिकी सेवा खरिद गर्न सक्ने जनाएका छन् । ओरेकल गम्भीररुपमा टिकटकको अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डको व्यवसाय खरिद गर्ने तयारीमा छ । यद्यपि टिकटकले भने माइक्रोसफ्टको प्रस्ताव अस्वीकार भएको तथा ओरेकललाई आफ्नो व्यवसाय बिक्री गर्ने विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

Related Post
Share

This website uses cookies.