मुकुन्द भुसाल
चितवन, १३ भदौ । कोरोना कहरका कारण चितवन पुर्वी नवलपरासी र तनहुँ जिल्लाका संगम स्थल देवघाट धाममा हुने विभिन्न मेलाहरु फिक्का रुपमा नै आए र गए पनि । मेलामा विभिन्न पसलहरु राखेर आम्दानी गर्न स्थानीयको रोजीरोटी खोसिएको छ भने भक्तजनहरुको सहयोगबाट चलिरहेको आश्रमहरुको समेत व्यवस्थापनमा चुनौती थपिएको छ ।
निषेधाज्ञा लम्बिँदै जाँदा प्रसिद्ध धार्मिक तीर्थस्थल देबघाट धाम क्षेत्रपनि नराम्ररी प्रभावित भएको छ । गत चैत्र ११ देखि सुरु भएको बन्दाबन्दीका साथै हाल चितवन र पुर्बी नवलपरासीमा जारी निषेधाज्ञाका कारण यो क्षेत्र सुनशान जस्तै देखिन्छ । हाल यहाँका मन्दिर तथा आश्रमहरुमा नित्य पुजा र शब दाह स्थलमा अन्तिम संस्कार बाहेकका सबै अतिरिक्त गतिबिधिहरु ठप्प छन् ।
बन्दाबन्दीकै बिच बैशाख सक्रान्ती र बोलबम पर्ब जस्ता महामेला देबघाटमा यसपटक फिक्का रुपमा आए गए । देश बिदेशका लाखौं तीर्थालुहरु आउँन पाएनन् । यसले यहाँका स्थानीय ब्यापारीहरुको रोजीराटी नै खोसिएको स्थानीय व्यापारी रेशम बहादुर जिसीले बताउनु भयो ।
चितवन, पुर्बी नवलपरासी र तनहुँ जिल्लाको संगम स्थल देबघाटधाम क्षेत्रमा एक बालिका आश्रम र ३ ओटा बृद्धाश्रमहरु रहेका छन् । सरकारी स्तरबाट प्राप्त सामान्य राहत, अनुदानका अलवा आम नागरिकहरुले बिशेष अवसरमा प्रदान गर्ने सहयोगबाट चल्ने गरेका यी आश्रमहरुको ब्यवस्थापनमा पनि अहिले चुनौती थपिएको छ ।
विगतमा मानिसहरुले आफ्ना जन्मदिन, विवाह ,उत्सव तथा पितृ श्राद्ध जस्ता अवसर पारेर आश्रममा आश्रितहरुलाई भोजनको ब्यवस्था गरिदिँदा सहज हुनेभएपनि अहिले सबैतिर बन्द हुँदा आश्रम सञ्चालनको खर्च बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताउनु भयो ।
शुक्रबार बाट चितवनमा फेरि निषेधाज्ञा थपिएपछि देबघाटधाममा चहलपहल बढ्ने आशा मरेको छ । बार्षिक स्वदेश तथा विदेशबाट लाखौं तीर्थालुहरुले मेला भर्न वा अवलोकन गर्न यसक्षेत्रमा आउने गर्दा ब्यापार ब्यवसाय बढ्ने र धार्मिक पर्यटनमा समेत बढावा हुने भएपनि तत्काल यहाँ त्यस्तो सम्भावना देखिँदैन ।