विश्व

राष्ट्रपति निर्वाचनमा राष्ट्रपति ट्रम्पलाई पुनः उम्मेदवार बनाउने रिपब्लीकन पार्टीको औपचारिक निर्णय

एजेन्सी, १३ भदौ । रिपब्लीकन पार्टीले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः उम्मेदवार हुन औपचारिक मनोनयन गरेको छ ।ट्रम्पलाई रिपब्लीकनले मनोनयन गरेसँगै आगामी चुनावमा डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन र रिपब्लीकन पार्टीबाट डोनाल्ड ट्रम्प दुई मुख्य प्रतिस्पर्धी हुने भएका छन् । उम्मेदवारी घोषणा भएसँगै राष्ट्रपति ट्रम्पले सभालाई सम्बोधन गर्दै विपक्षी डेमोक्र्याट पार्टीबाट उम्मेदवार जो बाइडेनका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक रहेको आरोप लगाउनु भएको छ ।

एक घण्टाभन्दा बढी समय सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट अमेरिकालाई जोगाउन आफूले निकै सफलता पाएको दाबी गर्नुभयो । कोरानाभाइरसको संक्रमणबाट अमेरिकामा मात्र एक लाख ८० हजारभन्दा बढीको मृत्यु भए पनि राष्ट्रपति ट्रम्पले आफूले चालेका सकारात्मक कदमका कारण अझ ठूलो क्षति हुन नपाएको बताउनुभयो ।

अमेरिकाले अहिले अभूतपूर्व जातीय आन्दोलन, आर्थिक मन्दी र राष्ट्रिय स्वास्थ्य आपतकाल परिस्थितिको सामना गरिरहे पनि राष्ट्रपति ट्रम्पले अमेरिकाको भविष्य निकै उत्साहप्रद रहेको जिकिर गर्नु भएको थियो । पूर्व उपराष्ट्रपति जो बाइडेनले विगत ४७ वर्षमा राष्ट्रलाई पुर्याएका क्षतिलाई उल्ट्याउन आफूलाई चार वर्ष लागेको ट्रम्पको भनाई थियो ।

Related Post
Share
Tags: donaldtrump

This website uses cookies.