जनकपुरधाम, ३२ साउन । धनुषामा थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको स्वाब संकलन गरिएको थियो । मृतक जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ४३ वर्षीय पुरुष रहेको प्रदेश नं. २ का स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उपचारका क्रममा जनकपुर स्थित काव्या हस्पिटलमा शुक्रबार नै मृत्यु भएको थियो । त्यसपछि कोरोना परिक्षण गर्न उनको स्वाब संकलन गरिएको थियो । तर उनको अन्त्येष्टिपछि आइतबार मात्र उनी कोरोना संक्रमणको कारण मृत्यु भएको खुलेको छ । आइतबार ती मृतकको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए । ती पुरुषलाई रुघाखोकी, ज्वरो लागेपछि अस्पताल भर्ना गरिएको थियो ।
उनको मृत्युसंगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । यता, जनकपुरमा लगाइएको लकडाउन आइतबार सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले एकसाताको लागि लकडाउन थपिएको छ । कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि जिल्ला प्रशासन कार्यालयले साउन २५ गते रातिसम्म एकसाताको लागि निषेधाज्ञा घोषणा गरेको थियो । २५ गते फेरि जिल्ला सुरक्षा समितिको बैठकले साउन ३२ गते रातिसम्मको लागि निषेधाज्ञा थप गरेको थियो ।
आइतबार रातिदेखि निषेधाज्ञाको समय समाप्त हुन लागेपछि प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले फेरी एकसाताका लागि लकडाउन थप गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिए ।