काठमाडौं, १३ साउन । मूलत प्रधानमन्त्रीको कुर्सीसंग सम्बन्ध राख्ने गरी भइरहेको नेकपा भित्रको शक्ति संघर्ष चरम उत्कर्षमा पुगेको देखिएको छ । एक पक्षले बैठक स्थगित गर्ने, अर्काे पक्षले संचालन गर्ने भन्ने दुईतर्फी धारसंगै पार्टी लगभग छैन भन्नुपर्ने अवस्थामा पुगेको छ । पार्टी विभाजनको औपचारिकता कसले कसरी दिन्छ भन्ने कुरा खुल्न बाँकी नै भए पनि पार्टी भने स्पष्ट रुपमा विभाजित भएको आंकलन गर्न सकिन्छ । कम्युनिष्ट पार्टीको एकता र विभाजन मूलत सिद्धान्तको आधारमा हुनु पर्ने हो ।
सत्ताको लागि भएको नेकपा पार्टीको एकता, सत्ताकै लागि फुट्ने देखिएको छ । सीमित समयमा नेताहरुमा देखिएको अस्वभाविक पद, प्रतिष्ठा र धन नै वास्तवमा कम्युनिष्ट नेताहरुका लागि अभिष्ट हुँदै गएको देखिन्छ । त्यो स्वभाविकता पनि हो । केही समय अघिसम्म जनताले दिएको पुरानो कपडा, चप्पल लगाउँदै गाउँको मझेरीमा बसी सिलाभरको थालमा भात खाँदै सामन्ती भनिएका राजाका विरुद्धमा लड्ने यी व्यक्तिहरु एकाएक नेता बने, नेताका आलिसान महल बने, । अझ भनौं, सामन्ती भन्ने राजालाई समेत माथ गर्नै गरि सम्पत्ति थुप्रियो ।
एकाएक आएको यस्तो बदलावकै कारण घमण्डै घमण्डले चुर भएको नेता र नेतृत्व, अब सत्ता भागबण्डा अनि जसरी पनि र जस्तो पनि शक्ति प्रयोग गर्दै अघि बढ्ने अनुसारल हदैसम्म तल्लो रुपमा देखिएको छन । आज प्रधानमन्त्री पदको लागि गरिएको भनिएको संघर्षको लागि जनताको एजेण्डा प्रमुख छैन। । बाढी पहिरोले पीडित जनताको आवाजसंग सम्बन्धित छैन । कोरोनाले थलिएको अर्थतन्त्रसंग पनि सम्बन्धित छैन । यो संघर्ष केवल पद र सत्ताको लागि छ । अझ भनौं, धन र सम्पत्तिको लागि छ ।
यो सिंगो वातावरणसंगै वर्तमान नेतृत्व भित्रका सबै प्रमुख नेतृत्वहरु प्राय निर्लज्ज एवं लज्जाहीन देखिन्छन । थाहा छैन, यी नेताहरुको गन्तव्य के हो ? यी नेताहरुलाई पैसाको भरमा चुनाव जितिन्छ भन्ने लागेको हुन सक्छ र शक्ति संचयको रुपमा पैसाको संचय गर्दै अघि बढिरहेका हुनसक्छन । उनीहरुलाई थाहा छैन, यस्तो व्यवहारबाट दिक्क जनताले भोलिको दिनमा आफूलाई कम्युनिष्ट भन्न रुचाउलान कि नरुचाउलान ? नेतृत्वको भूमिकालाई नकारात्मक रुपमा लेलान या सकारात्मक रुपमा ? यस्तो नेतृत्वबाट देशको विकास होला भन्ने देख्लान कि नदेख्लान ? इत्यादि अनुत्तरित प्रश्नसंगै वास्तविकता एउटा के पनि हो भने, जनताले यी सबै पात्रहरुलाई नजिकबाट हेर्नसम्म हेरिसके, देख्नुसम्म देखिसके, यी पात्रहरु जनताको नजरमा नांग्गिनुसम्म नाङ्गिइसके ।
मात्र नांगो देख्ने आँखाको कमी छ । त्यो पनि यो शक्ति संघर्षसंगै आउने परिणामले अझ छर्लङ्ग पार्नेछ । राजनीति, लाजनीतिमा परिणत भएको यस्तो परिदृष्य भविष्यको पुस्ताले कसरी हेर्ला ? कमसेकम, सम्पूर्ण रुपमा नांगिनबाट बच्न सक्यो भने, अथाह सम्पत्तिको पर्दाले केही मात्रामा भएपनि लाज छेक्न सक्ला कि ?