Thu, 18 Jan 2018

बुधबारसम्म सिट बाँडफाँड टुंग्याउने कार्यदलकाे तयारी

काठमाडौं, ३० पुस । एमाले र माओवादी केन्द्रद्वारा गठित कार्यदलले बुधबारसम्म राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँडलाई टुंग्याउने तयारी गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका विषयमा गृहकार्य गर्न गठित दुई दलीय कार्यदलको आईतबार बसेको बैठकले बुधबारसम्म राष्ट्रिय सभाको निर्वाचनको सिट बाँडफाँडलाई टुंगोमा पुर्‍याउने गरी छलफललाई अघि बढाएको हो ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा अाइतबार बसेको बैठकमा दुई वटै दलका नेताहरुले निर्वाचनमा प्राप्त मतलाई आधार बनाएर आफ्ना प्रस्ताव पेश गरेका थिए । राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड दुवै दलका अध्यक्षहरुसँग परामर्श गरी बुधबार टुंग्याउने गरी छलफल अघि बढाइएको कार्य दलको संयोजन गरेका एमाले नेता सुभाष नेम्वाङले जानकारी दिए ।

बैंककमा स्वास्थ्य उपचारका लागि गएका एमाले अध्यक्ष ओली मंगलबार स्वदेश फर्कने कार्यक्रम छ । कार्यदलले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गरेर मात्रै राष्ट्रिय सभा निर्वाचनको सिंट बाँडफाँडलाई टुंगोमा पुर्‍याउने योजना बनाएको हो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड बुधबारसम्म टुंगोमा पुर्‍याउने सहमति गरिएको स्पष्ट पारे । उनले प्रदेश सरकार गठनका लागि आवश्यक छलफल भईरहेको पनि जानकारी दिए ।

बाम गठबन्धनमा आवद्ध दुई दलले राष्ट्रिय सभाको निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न एमाले नेता नेम्वाङ र माओवादी केन्द्रका नेता रामबहादुर थापा रहेको ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।

कार्य दललाई निर्वाचनको मत परिणामलाई मुख्य आधार बनाएर राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका विषयमा सहमति जुटाउने कार्यादेश दिइएको छ ।

By: कार्यदल

4 days ago VIEWS: 22

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!