Tue, 16 Jan 2018

रियल मड्रिड भिल्लारियलसँग १–० ले पराजित

एजेन्सी, ३० पुष ।  रियल मड्रिडले ला लिगामा खराब प्रदर्शन गर्ने क्रमलाई निरन्तरता दिएको छ । स्पेनिस लिग फुटबलमा रियल मड्रिडलाई भिल्लारियलले उसैको मैदानमा पराजित गरेको छ ।

साबिक विजेता रियल मड्रिड गएराति घरेलु मैदानमा भिल्लारियलसँग १–० ले पराजित भएको छ । भिल्लारियलको जितमा फोर्नाल्सले खेलको ८७ औं मिनेटमा निर्णायक गोल गरे । भिल्लारियलले रियललाई उसकै मैदानमा हराएको यो पहिलो पटक हो । खेल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न नसक्दा रियलले ३ अंक भिल्लारियललाई सुम्पिनुपरेको हो ।

क्रिष्टियानो रोनाल्डोले प्रहार गरेको फ्रि–किक बारमा लागेर फर्किनु रियलको हारको कारण बन्यो । रियल १८ खेलबाट ३२ अंकसहित लिगको चौंथो स्थानमा छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ४८ अंक छ । रियलमाथि जित दर्ता गरेको भिल्लारियल १९ खेलबाट ३१ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले एइबरलाई १–० तथा तेस्रो स्थानको भ्यालेन्सियाले डिप्रोटिभो डि ला कोरुनालाई २–१ ले पराजित गरेका छन् ।

By:

2 days ago VIEWS: 15

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!