Tue, 16 Jan 2018

वाम गठबन्धनको कार्यदलले माघ पहिलो साताभित्रै प्रतिवेदन तयार पार्ने

काठमाडाैं, २९ पुस । प्रदेशसभा गठन र राष्ट्रियसभाको सिट बाँडफाँडमा सहमति जुटाउने जिम्मा पाएको वाम गठबन्धनको कार्यदलले माघ पहिलो साताभित्रै प्रतिवेदन तयार पार्ने भएको छ ।

प्रदेश मुख्यमन्त्री, सभामुख र राष्ट्रियसभाको सिट संख्या बाँडफाँडको मापदण्ड तयार पारेको कार्यदलले त्यसमा सहमति कायम गरी नेतृत्वलाई माघ १० गते रिपोर्ट बुझाउने तयारी गरेको हो ।  शुक्रबार बसेकाे पहिलो बैठकमा कार्यदलले प्रदेश सरकार र राष्ट्रियसभामा सिफारिसका लागि आवश्यक केही आधार तयार पारेको छ ।

शनिबार अपरान्ह सिंहदरबारमा बस्ने बैठकमा विशेष छलफल गरिने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए  । स्थानीय र प्रदेश निर्वाचनको परिणाम, एकताको भावना, योग्यता र सन्तुलनका आधारमा सिट बाँडफाँड गर्ने गरी तयारी भएको कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बताए ।

राष्ट्रियसभा निर्वाचनका लागि माघ १० गते उम्मेदवारको मनोनयन तोकिएको छ । निर्वाचन आयोगले प्रदेशको समानुपातिकतर्फको नतिजा सार्वजनिक गरेपछि प्रदेश सरकार गठन र सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६० र ४० प्रतिशत उम्मेदवार लिएर चुनावमा भाग लिएका एमाले र माओवादी केन्द्रले ७० र ३० प्रतिशत जित हासिल गरेका थिए । राष्ट्रियसभा निर्वाचनमा पनि ६० र ४० कै भागबण्डा गर्नेबारे एमाले र माओवादी नेताबीच अनौपचारिक कुराकानी भए पनि एकताको भावनाअनुसार अघि बढ्ने कुरालाई कार्यदलले जोड दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डबाट फर्किनुअघि नै कार्यदलले बाँडफाँडको टुंगो लगाउने नेताहरूले बताएका छन् । कार्यदलमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव हुनुहुन्छ ।

 

By:

3 days ago VIEWS: 23

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!