एमाले र माओवादी एकताको सहमति, आज पार्टी एकताको घोषणा हुने ! | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

एमाले र माओवादी एकताको सहमति, आज पार्टी एकताको घोषणा हुने !

umale maobadi

काठमाडौं,३ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पद बाँडफाँडमा कुरा मिलेपछि दुई पार्टीबीच एकीकरण गर्ने सहमति भएको हो।

ओली र प्रचण्डबीच सरकारका नेतृत्व आलोपालो गर्ने, कार्यकारी अधिकारसहित दुवै नेता पार्टी अध्यक्ष हुने सहमति भएको छ। पद बाँडफाँडको गाँठो फुकेसँगै नयाँ सरकार गठनअघि नै पार्टी एकता घोषणा गरेर एउटै पार्टीको नेतृत्वमा सरकार गठन हुने नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो। पहिलो चरणमा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

दुई दलबीच नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ। पार्टीको अध्यक्ष ओली र प्रचण्डको समान हैसियत हुनेछ। ओलीले सरकारको नेतृत्व गर्दा पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड हुने भएका छन्। अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने वाम गठबन्धन बनाउँदादेखिकै सहमतिअनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा समय प्रधानमन्त्री हुनेछन्।

नयाँ बन्ने पार्टीको ‘नेपाल कम्युनिस्ट पार्टी’ र पार्टीको राजनीतिक दर्शन माक्र्सवाद र लेनिनवाद रहने भएको छ। दुई वर्षभित्र पार्टीको महाधिवेशन गर्ने र एकता महाधिवेशनसम्म पार्टीको कार्यदिशाका विषयमा समाजवाद उन्मुख नयाँ कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने सहमति जुटेको छ।

बुधबार बसेको एकता संयोजक समितिको बैठकमा सैद्धान्तिक विषयमा मात्र छलफल भएकाले सांगठानिक विषयमा भने कुरा हुन बाँकी रहेको छ। नेता खनालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बैठकमा सैद्धान्तिक विषयमा मात्र छलफल भयो, संगठनात्मक विषयमा कुरा हुन बाँकी छ, एकता संयोजक समितिको बैठकले टुंगो लगाएपछि नयाँ सरकार गठनअघि नै पार्टी एकताको घोषणा हुन्छ।’

दुई दलबीच दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने र महाधिवेशनसम्मका लागि करिब एक सय जनाभन्दा कमको केन्द्रीय समिति बनाउने पनि सहमति भएको छ। एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति र उपसभामुख एमालेले लिने र उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले पाउने पनि सहमति भएको बताइएको छ। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकीकरणका लागि ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो।

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय

kp oli

नेकपा एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष ओलीलाई अगाडि सार्ने निर्णय गरेको हो। बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताउनुभयो। पाण्डेका अनुसार संसदीय दलको नेताका रूपमा ओलीलाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो। आजको नेपाल समाचारपत्रमा यस्तो खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);