राष्ट्रपति भण्डारी आज भारत प्रस्थान

  • राष्ट्रपति भण्डारी आज भारत प्रस्थान

४ बैशाख,काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुख लगायतले बिदाइ गरे ।

 

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी भारत जानु भएको हो । भारतीय राष्ट्रपति मुखर्जीले गत १७ कात्तिकमा नेपालको राजकीय भ्रमणमा आउँदा भण्डारीलाई भारत भ्रमणको निम्तो दिनुभएको थियो ।


राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास वैरागी लगायतको सहभागिता रहेको छ । राष्ट्रपति भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

 

गत बर्षको बैशाख २७ गते भण्डारीको भारत भ्रमणको तयारी भएता पनि तत्कालीन केपी शर्मा ओली सरकारले भ्रमणका लागि तयारी नपुगेको भन्दै भ्रमण स्थगित गरेको थियो । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी समेत दिएको थियो ।

By:

1 month ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News