श्रावण-१२-२०७४

प्रचण्ड भन्छन् ‘काग्रेस र एमालेले मात्रै चुनाव जितेको होईन् मैले पनि जितेको छु’

राजेन्द्र आचार्य, चितवन, ५ जेठ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफूले टेलिभिजन हेर्न छाडेको बताएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्न चितवन पुगेका प्रधानमन्त्रीले स्थानीय निकायको पहिलो चरणको निर्वाचन गराउनु आफ्नो सफलता भएको दावी गरे। ’यो निर्वाचन सफलतापूर्वक, व्यापक जनताको सहभागिताका साथ सम्पन्न गर्दा मैले ठूलो जिम्मेवारी पूरा भएको महसुस गरेको छु’, प्रचण्डले भने, ’कसले जित्छ कसले हार्छ, मैले टिभी पनि हेर्न छाड्दिएको छु।’ स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा एमाले अग्रस्थानमा छ भने कांग्रेस दोश्रो र माओवादी केन्द्र तेश्रो स्थानमा छ ।

 

प्रचण्डले नेपाली कांग्रेसले जिते पनि आफूले जितेको जस्तो लागेको र एमालेले जित्दा समेत आफूले जितेको ठानेको बताए। ’कांग्रेसले जिते पनि मैले जितेको ठानेको छु, एमालेले जिते पनि मैले जितेको ठानेको छु, माओवादीले जित्दा त झन् ठान्ने नै भएँ, जीत सबैको हो ’, उनले भने, ’किनभने देशले जितेको छ। आम जनताले जितेका छन्।’ प्रचण्डले पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै दोश्रो चरणको निर्वाचन सम्पन्न गरेपछि परिवर्तन संस्थागत हुने बताए। उनले स्थानीय सरकारको सुरुवातसँगै नयाँ युगको प्रारम्भ हुने दावी समेत गरे ।

By: शशी शेखर घिमिरे

2 months ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News