सिन्धुलीको तिनपाटन गाउँपालिकामा कांग्रेस विजयी

 

राजन गाउँले सिन्धुली ४, जेठ ।

सिन्धुलीको तिनपाटन गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका कर्णबहादुर मगर गाउँपालिका प्रमुखमा निर्वाचित हुनु भएको हो । मगरले ५७०१ मत ल्याएर विजयी हुनु भएको हो भने उहाँका प्रतिद्धन्द्धी नेकपा एमालेका छत्रबहादुर दाहालले ५६८२ मत प्राप्त गर्नु भएको थियो । उक्त गाउँपालिकाको उपप्रमुखमा भने नकपा एमालेकी पद्ममायाँ तामाङ विजयी हुनु भएको छ । तामाङले ५७२२ मत ल्याउनु भएको थियो भने उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी चिन्तादेवी दाहालले ५०९१ मत ल्याउनु भएको थियो । ११ वटा वडा रहेको उक्त गाउँपालिकाको वडा अध्यक्षमा भने मिश्रीत परिणाम आएको छ । जसमध्ये एमालेले ५ वटा वडा जितेको छ भने नेपाली कांग्रेसले ५ वटा वडामा प्यानलनै जितेको छ । माओवादी केन्द्रले १ वटा वडामा प्यानल सहित जित हात पारेको छ ।

 

यो संगै जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । जस मध्ये नेपाली कांग्रेसले ३ वटा, माओवादी केन्द्र २ वटा र एमालेले १ वटा वडामा जित हात पारेको छ । प्राप्त जानकारी अनुसार मरिण गाउँपालिकामा माओावदी केन्द्रका पानीराज बम्जन, घ्याङलेक गाउँपालिकामा कांग्रेसका जगत भोलन, हरिहरपुरगढी गाउँपालिकामा माओवादी कांग्रेसका कारसाङ लामा, गोलन्जोर गाउँपालिकामा नेपाली कांग्रेसका पुष्प कार्की र फिक्कल गाउँपालिकामा नेकपा एमालेका धनबहादुर कार्की विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र शुनकोसी गाउँपालिकाको मत गणना भइरहेको छ । कमलामाई नगरपालिकाको १४ वटा वडा मध्ये ९ वटा वडाको मत गणना सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टराइले बताउँनु भयो ।

 

नगरका ९ वटा वडा मध्ये ४ वटा वडामा नेपाली कांग्रेस वडा अध्यक्षमा विजयी भएको छ भने नेकपा एमाले ४ वडामा विजयी भएको छ । माओवादी केन्द्र भने १ वटा वडामा मात्र हालसम्म विजयी भएको छ । प्राप्त जानकारी अनुसार कमलामाई नगरपालिकाको मेयरमा नेकपा एमालेका खड्ग खत्रिले अग्र स्थान कायम गरिरहनु भएको छ । खत्रीले हालसम्म ७१३६ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका उपेन्द्र पोखरेलले ५८९७ मत प्राप्त गर्नु भएको छ । माओवादी केन्द्रकी सावित्रादेबी पाण्डेले ३३१४ मत मात्र प्राप्त गर्नु भएको छ । उपमेयरमा भने नेपाली कांग्रेसकी शुसिला थिङ ६७७० मत ल्याएर अग्रपङ्तीमा हुनुहुन्छ ।

 

एमालेकी मन्जु देवकोटा ६४७४ र माओवादी केन्द्रकी शावित्री श्रेष्ठको ३४२८ मत रहेको छ । दुधौली नगरपालिकामा ९ वटा वडाको मत गणना सम्पन्न भएको छ । ९ वटा मध्ये ३ वटा वडामा कांग्रेस, ४ वटामा एमाले र २ वटामा माओवादी केन्द्र विजयी भएको छ । दुधौली नगरपालिकाको मयेर र उपमेयरमा क्रमस नेपाली कांग्रेस ५२२२, एमाले, ५८६८ र माओावदी केन्द्र ५०६३ मत पाउन सफल भएका छन् । उता सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रले अग्र स्थान कायम गरिरहेको छ । हालसम्म मत गणना सम्पन्न भएको नतिजा अनुसार माओावदी केन्द्रको मेयर पदका लागि २७५७, नेपाली कांग्रेस २६६० र एमालेको १८७१ मत रहेको छ ।

By: शशी शेखर घिमिरे

1 week ago | राजनीति

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Top News